
फागुन २६, दैलेख
शिक्षा क्षेत्रमा शिक्षक, विद्यार्थी र अभिभावकहरूले गरेको मेहनतको मूल्याङ्कन गर्ने एस.ई.ई. परीक्षा नजिक आएको छ । दश वर्षसम्म शिक्षकहरूले पठन पाठनलाई व्यवस्थित गरे वा नगरेको भनेर एसइई परीक्षामा मूल्याङ्कन हुन्छ । दैलेखको दुल्लू नगरपालिका वडा नं. २ नाउले कटुवालमा रहेको भानेश्वर माध्यमिक विद्यालयमा अहिले शैक्षिक अवस्था सुधार गर्न सरकारी विद्यालयलाई आवासीय विद्यालयका रूपमा सञ्चालन गरिएको छ ।
शिक्षा क्षेत्रमा देखिएको समस्याको दिगो रूपमा समाधान गर्ने उद्देश्यले दैलेखको दुर्गम बस्तीमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थी मिलेर आवासीय विद्यालयको सुरुवात गरिएको हो ।
दुल्लू नगरपालिका वडा नं. २ नाउले कटुवालमा रहेको भानेश्वर माध्यमिक विद्यालयमा अहिले कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीहरूलाई आवासीय रूपमा विद्यालयमै राखेर पठन पाठन सुरु गरिएको विद्यालयका प्राचार्य ललित प्रसाद पोखरेलले जानकारी दिएका छन् । सरकारी विद्यालय भए पनि कक्षा १ देखि ३ सम्म अङ्ग्रेजी माध्यमबाट पढाई सञ्चालन गरिएको पोखरेलले बताए ।
इच्छा शक्ति भएपछि काम गर्न सकिन्छ भन्ने उदाहरण स्वरूप विद्यालय व्यवस्थापन समितिले यस्तो अभियान थालेपछि अहिले अभिभावकहरू समेत खुसी बनेका छन् । गत वर्ष सम्मको एस.ई.ई. परीक्षामा १ जना पनि उर्तिण हुन नसकेको भानेश्वर माध्यमिक विद्यालयमा यो वर्ष कम्तीमा ५० प्रतिशत विद्यार्थीहरूलाई राम्रो अङ्क ल्याएर उर्तिण गराउने योजना विद्यालयले लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र थापाको भनाई छ । आफू विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएको दुई महिनामै विद्यालयको शैक्षिक सुधार लगायतका काममा लागेको थापाको भनाई छ ।
वडाले नमुना विद्यालय बनाउने अभियान सुरु गरेको र यसलाई प्रदेश र सङ्घ सरकारले पनि सहयोग गर्नुपर्ने वडा नं. २ का वडा अध्यक्ष लछिराम थापाको भनाई छ । दोर्णाचल शिक्षा क्याम्पसका सहायक प्राध्यापक आत्म प्रसाद उपाध्यायले आवासीय विद्यालय बनाउने कार्य कठिन भए पनि सुरुवात राम्रो भएकोले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्नुपर्ने आवश्यकता भएकोले किताबमा भएका कुराहरूलाई व्यवहारमा प्रयोग गर्नेबारेमा सिकाउनुपर्ने सुझाव दिएका छन् ।
स्वास्थ्य चौकी इन्चार्ज नवीन सुनारले विद्यालयले गरेको कार्य प्रभावकारी भएकोले यसको व्यवस्थापनका लागि सबै तहका सरकारले चासो बढाउनुपर्ने सुझाव दिए, अहिलेसम्म यस विद्यालयमा पढेका कुनै पनि विद्यार्थी इन्जिनियर हुन सकेनन, डाक्टर हुन सकेनन् यो अभियानले पक्कै पनि शिक्षा क्षेत्रमा परिवर्तन हुने सुनारको आशा छ ।
विद्यार्थी ललिता कुमारी थापाले बिहान बेलुकाको घर जाने आउने समय र घरको कामको व्यस्तताले पढ्ने अवसर प्राप्त नभएको बेलामा आवासीय विद्यालयमै बसेर अध्ययन गर्दा नजानेका कुराहरू दोर्होयाएर शिक्षकहरू सँग जान्ने अवसर प्राप्त भएकोले यो वर्षको एसइई परीक्षामा धेरै बिद्यार्थीहरु राम्रो अङ्क ल्याएर पास हुने आशा गरेको बताइन । विद्यार्थी यज्ञबहादुर थापाले नजानेका कुराहरू सिक्ने अवसर प्राप्त भएको र एसइईको तयारीका लागि निकै राम्रो वातावरण प्राप्त
भएको बताएका छन् ।
गाउँमै आवासीय विद्यालय सञ्चालन गरेर बालबालिका पढ्न पाएको भन्दै अभिभावहरुले समेत खुसी व्यक्त गरेका छन् ।
स्रोत अभावमै आवासीय विद्यालय
आवासीय विद्यालय सञ्चालनका लागि विद्यालयमा कुनै स्रोत नभए पनि अभिभावकहरूको स्रोतबाट सञ्चालन गरिएको छ । विद्यालय प्र.अ. बस्ने कोठालाई आवासीय बनाएर पठन पाठनलाई प्रभावकारी बनाउन अभियान थालिएको हो । अहिले छात्र र छात्राका लागि छुट्टा छुट्टै बस्ने व्यवस्था गरिएको छ । विद्यार्थीहरूलाई बिहान बेलुकाको खाना निकै सस्तोमा व्यवस्थापन गरिएको छ । भवन, शौचालयको अभाव हुँदाहुँदै पनि अभियान थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र थापाले बताए ।
विद्यार्थीहरूलाई व्यावसायिक र नैतिक शिक्षाका बारेमा पनि जानकारी गराइएको छ । नयाँ शैक्षिक सत्रबाट कानुन र व्यवस्थापन विषयको पढाई सञ्चालन गर्ने, कक्षा ९ बाट कम्प्युटर शिक्षाको तयारीमा विद्यालय रहेको छ ।









